सरस्वतीखेलको सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता



भक्तपुर,जेठ १८ । चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेलस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा फिर्ता ल्याएर कालभैरबको मूर्ति स्थापना गरिएको छ ।

४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गुहारेका थिए ।

व्यक्तिको नामबाट उक्त जग्गा अनुसन्धानपश्चात् आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरिएको थियो ।

फिर्ता आएपछि स्थानीय सरकार र नागरिकको सहभागितामा कालभैरबको विशाल मूर्ति स्थापना गरिएको चाँगुनारायण–१ का वडाध्यक्ष सिजन कार्कीले बताए ।

“व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीको पहलमा पुनः सरकारककै नाममा फिर्ता आएको उनको भनाई छ । यसको संरक्षण गर्न स्थानीय सरकार र स्थानीयवासी लागिरहेका छौँ ।”

यही जग्गामा कालभैरबको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठासमेत गरिएको छ । करिब २० लाख रुपैयाँमा अर्को एक मन्दिर निर्माण गर्ने, २० लाख रुपैयाँकै लागतमा बहुउदेश्यीय सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रको रूपमा विकास गरी यहाँ पर्यटक भित्र्याउने लक्ष्यसहित काम अगाडि बढाइएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्