नक्कली प्रचण्डको भूमिका निभाएका हास्यकलाकार घनश्याम गौतमको निधन

काठमाडौँ, जेठ २० — हास्य कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ। ‘नक्कली प्रचण्ड’को रूपमा चिनिएका गौतमको गए राति १२ बजे काठमाडौँको क्यान्सर सेन्टर, ताथलीमा निधन भएको परिवार स्रोतले जानकारी दिएको छ।
गौतम लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। पटक–पटक उपचार गरिए पनि स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेको थिएन। श्रीमतीको साथमा अस्पतालमा उपचार गराइरहेका थिए उनी।
‘मेरी बास्सै’ हास्य टेलिसिरियलमा ‘प्रचण्ड’को भूमिकाबाट चर्चामा आएका गौतमले गाईजात्रा लगायतका कार्यक्रममा समेत निरन्तर प्रस्तुति दिने गर्थे।
उनको अन्त्येष्टि भोलि बिहान पशुपति आर्यघाटमा गरिने परिवार स्रोतले जनाएको छ।