अझै चलेनन् गाडी: छहरे-टोखा सुनसान, सहमति कार्यान्वयन नहुँदा यात्रु निराश



नुवाकोट, असार २० — देशभरसहित छहरे–टोखा सडकखण्डमा यातायातका साधन अझै सञ्चालनमा नआएपछि स्थानीय यात्रु र सर्वसाधारण निराश बनेका छन्। यातायात व्यवसायी र सरकारबीच सोमबार ६ बुँदे सहमति जुटेको घोषणा गरिए पनि मंगलबार बिहानसम्म सार्वजनिक गाडी सञ्चालनमा आउन सकेका छैनन्।

गुर्जे अस्थायी प्रहरी पोस्टका अनुसार रिजर्भमा सञ्चालन भएका केही गाडीबाहेक अन्य कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छैनन्। सर्वसाधारण यात्रु सडकमा गाडीको प्रतीक्षा गर्दै फर्किन बाध्य भएका छन्।

यातायात व्यवसायीहरुको आन्दोलनका कारण गाडी सञ्चालन नहुँदा यात्रुहरू मर्कामा परिरहेका छन्। पासाङ ल्हामु यातायात समितिका एक पदाधिकारीले केन्द्र र व्यवसायीबीच सहमति भएको तर कार्यान्वयन नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारे। “सहमति भएको हो, तर कार्यान्वयन नहुँदासम्म हामीले गाडी चलाउन सक्दैनौं,” उनले भने।

सरकार र व्यवसायीबीच भएको छलफलमा सहभागी सरकारी वार्ता टोलीका सदस्य तथा गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले ल्याएको नयाँ निर्देशिकाबारे सहमति जुटेको जानकारी दिए । उनका अनुसार विषयलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइने र सो कार्यालयमार्फत गण्डकी प्रदेशलाई आवश्यक निर्देशन दिने सहमति भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा रहेको विवादित बुँदा हटाएपछि मात्र आन्दोलन स्थगित गरिने स्पष्ट पारे । “जबसम्म सो बुँदा हटाइँदैन, आन्दोलन जारी रहनेछ,” सिटौलाले बताए।

स्थानीय नागरिकहरू भने सहमति भए पनि कार्यान्वयन नहुँदा सरकार र व्यवसायी दुवैप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्