तादी गाउँपालिकाद्वारा तीनदिने कार्य उत्प्रेरणा तथा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न



नुवाकोट,जेठ २० – तादी गाउँपालिकाको आयोजनामा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि सञ्चालित तीनदिने व्यवस्थापन तथा कार्य उत्प्रेरणा सम्बन्धी तालिम कार्यक्रम आज एक विशेष समापन समारोहका साथ सम्पन्न भएको छ।

तालिम यही जेठ १८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो। समापन समारोह तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष सन्जु प्याकुरेल विशेष अतिथि रहेकी थिइन ।

समारोहमा प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनाल, पूर्व सचिव तथा विज्ञ प्रशिक्षक यादव कोइराला, पूर्व महान्यायाधिवक्ता कृष्णजिवि घिमिरे, र कानुन व्यवसायी श्री राजन कुमार केसी अतिथिको रूपमा सहभागी भएका थिए ।

तालिममा तादी गाउँपालिकाको विभिन्न शाखा तथा अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले कर्मचारीहरूको व्यवस्थापन क्षमता अभिवृद्धि र कार्यप्रति उत्प्रेरणा जगाउने उद्देश्य राखेको आयोजकले जनाएका छन्।

समापन समारोहमा सहभागी अतिथिहरुले यस प्रकारका तालिमले कर्मचारीहरूको पेशागत दक्षता र सेवाप्रदायक संस्थाको प्रभावकारिता वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्