रसुवाको पार्बती कुण्डको सरसफाइ

रसुवा,जेठ २० । डिभिजन बन कार्यालय रसुवाले रसुवाको आमाछोदिङमो गाउँपालिका तीनमा रहेको पार्बती कुण्डको सफाइ गरेको छ ।
बोझो नामक जडीबुटीले पार्वती कुण्डको आकार घटेको र अस्तित्व सङ्कटमा परेको भन्दै डिभिजन बन कार्यालयले सरसफाइ अभियानलाई यस वर्ष पनि निरन्तर दिएको हो ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुण्डको स्वरूप बोझोले ढाक्न थालेपछि संरक्षणको लागि स्थानीय, नेपाली सेना र वनकर्मीहरूको संयुक्त प्रयासमा सरसफाइ गरिएको हो । सरसफाइ अभियानअन्तर्गत कुण्डमा फैलिएको बोझो हटाउने, माटो र बालुवा फाल्ने, वरपरको झाडी सफा गर्ने कार्य भइरहेको छ ।
डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार यस ठाउँको तामाङ परम्परागत अनुसार पूजापाठ गरी सरसफाइ अभियानको शुभारम्भ गरिएको हो ।
सरसफाइ अभियानमा नेपाली सेनाको श्री श्रीनाथ गण अन्तर्गत मानचेत ब्यारेक, बोङ्जोमाने र ज्यार्सा गोठेन सामुदायिक वन उपभोक्ता समूह, थाम्बुचेत सब डिभिजनका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको छ । करिब दुई हजार छ सय मिटरको उचाइमा रहेको पार्वती कुण्डमा १०८ वटा धाराहरू निमार्ण गरी सकिएको छ भने यस क्षेत्रबाट पाल्दो पिक, गणेश हिमाल, साङजेन हिमाल, समथर घाँसे मैदान, सोम दाङ उपत्यका तथा जागेश्वर कुण्ड जस्ता स्थलहरूमा पदयात्रा गर्न सकिने भएकाले यसले आन्तरिक र बाह्य पर्यटकको सम्भावनालाई समेत सहयोग पुगेको आमाछोदिङमो गाउँपालिकाका उपप्रमुख चण्डिका तामाङ ले बताए ।
स्थानीयहरूको विश्वास छ — यो अभियानले धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको संरक्षण गर्दै भविष्यका पुस्तालाई जीवन्त धरोहर हस्तान्तरण गर्न मद्दत पुर्याउनेछ।