छहरे–टोखा सडक मर्मत ‘टालाटुली बाटुली’: स्थानीयको खबरदारीपछि डिभिजनको स्पष्टीकरण



• भरतसन्तोषी लामा

नुवाकोट,जेठ २०— काठमाडौं र नुवाकोटलाई जोड्ने छोटो दूरीको महत्वपूर्ण छहरे–टोखा सडक खण्डमा मर्मत कार्य चलिरहेको छ। तर, स्थानीयवासीहरूले मर्मतको गुणस्तरप्रति गम्भीर प्रश्न उठाउँदै खबरदारी गरेका छन्।

मंगलबार चापाबोटदेखि छहरेसम्मको सडक पिच मर्मत गरिए पनि काफलडाडा र जनज्ञान निकेतन मावि नजिकको भाग मर्मत नगरी छाडिएको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन्।

स्थानीय युवा अर्जुन पाठकले नागरिकको करबाट निर्माण हुने सडक चित्तबुझ्दो नहुँदा खबरदारी गर्नुपरेको बताए। “यो सडक हाम्रो दैनिक जीवनसँग जोडिएको छ। यस्तो टालटुली कामले दीर्घकालीन समाधान दिन सक्दैन,” उनले भने।

पहिलो चरण मात्र हो, दोस्रो चरण बाकी नै छ : इन्जिनियर शाह

सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर दिलिप शाहले हालको मर्मत कार्य पहिलो चरण भएको स्पष्ट पार्दै दोस्रो चरणमा अलकत्रा र उपयुक्त सामग्रीसहित अन्तिम तह थपिने जानकारी दिए।

“मसिनो चिप्स राख्दा झन् सोहोरिएर बिग्रिने भएकाले अहिले सरसफाइ र ठूला गिटी राखिएको छ। एक हप्ता भित्र फाइनल लेयर थपिनेछ,” उनले भने।

उनका अनुसार यसपटक ठेकेदारमार्फत नभई सडक डिभिजन आफैंले मर्मतको जिम्मा लिएको हो। करिब पाँच लाख रुपैयाँ खर्चमा खाल्डाखुल्डी पुर्ने र मर्मत कार्य भइरहेको जनाइएको छ।

स्थानीयको माग– दिगो र पारदर्शी मर्मत

सडक गुणस्तरीय बन्नुपर्ने र मर्मत कार्य पारदर्शी रूपमा सम्पन्न हुनुपर्ने स्थानीयको माग छ। नियमित जनगुनासो नआउने गरी काम सम्पन्न गरिने डिभिजनको भनाइ छ।

सडक डिभिजनले दिएको आश्वासनअनुसार अबको चरणमा प्रभावकारी सुधार देखिने अपेक्षा गरिएको छ। इन्जिनियर शाहले साझापथसग भने- “दुई हप्ता समय दिनुहोस्, त्यसपछि गुनासो आयो भने मलाई भन्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्