सभामुख घिमिरेसँग राजदूत अब्देलघानीबीच भेट



काठमाडौं,जेठ २२ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जोर्डनका गैरआवासीय राजदूत युसेफ अब्देलघानीले भेट गरेका छन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको भेटमा आर्थिक तथा श्रम सम्बन्ध र संसदीय आदानप्रदानबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

भेटमा सभामुख घिमिरेले नेपाल र जोर्डन प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले दुवैतर्फबाट पर्यटन विकासको क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको बताए । “नेपाल सगरमाथाको देश भएकाले जोर्डनी नागरिकलाई हिमाल आरोहणका लागि हामी प्रोत्साहित गर्दछौँ”, उनले भने ।

सभामुख घिमिरेले सन् २०१७ मा दुई देशबीच द्विपक्षीय श्रम सम्झौता भएपछि जोर्डनमा करिब तीन हजार नेपाली कामदार विशेषगरी महिला कामदार घरेलु काम तथा गार्मेन्ट सेक्टरमा कार्यरत रहेको बताए । 

“ठूलो सङ्ख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा जोर्डनी जनता तथा सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु । श्रम आप्रवासनका क्षेत्रमा थप सहकार्य गर्ने सम्भावनाको खोजी गरिनुपर्छ भन्ने मलाई लागेको छ”, उनले भने ।

सभामुखले नेपालमा हुने रासायनिक मल अभावका लागि जोर्डनसँग सहकार्य गर्न सकिने उल्लेख गर्दै नेपालको कृषिजन्य उत्पादनलाई आफ्नो मुलुकमा लैजानका लागि सहयोग गर्न राजदूतको ध्यानाकर्षण गराए । उनले हाल नेपाल आर्थिक वृद्धिलाई तीव्र पार्न, दिगो विकास लक्ष्य हासिल गर्दै अल्पविकसित राष्ट्रबाट यथा समयमै स्तरोन्नति सुनिश्चित गर्न क्रियाशील रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्