क्याम्पसका तीन सय विद्यार्थीले पाए निःशुल्क विद्युतीय चुलो



म्याग्दी,जेठ २२ । म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत तीन सय विद्यार्थीलाई निःशुल्क विद्युतीय ‘इन्डक्सन’ चुलो वितरण गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा गरिब (कम आए) भएका विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

म्याग्दी क्याम्पसको स्ववियु समन्वयमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रेमबहादुर कार्की, क्याम्पस प्रमुख श्रीधर सुवेदी, स्ववियु सभापति सङ्गम चोखाल क्षेत्री लगायतले विद्यार्थीलाई चुलो वितरण गरेका थिए ।

स्ववियु सभापति चोखालका अनुसार पहिलो चरणमा आर्थिक रूपमा कमजोर र दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गरिएको छ । चुलो वितरण गर्दै अध्यक्ष श्रेष्ठले ग्रामीण भेगबाट आइ बेनीमा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने बताए ।

चुलो ल्याउन सहयोग गर्ने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दै म्याग्दी क्याम्पससँगै मङ्गला शिक्षा क्याम्पसका सबै विद्यार्थीलाई चुलो उपलब्ध गराउन सहयोग गर्न राज्यमन्त्री गर्बुजासँग छलफल भइरहेको बताए ।

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका–४ मुदी बगरका शेरबहादुर सुनार र सोही गाउँपालिका–५, मराङकी रोजीना सुवेदीले ग्यासको तुलनामा धेरै सस्तो हुने भएकोले इन्डक्सन चुलोले आफूहरूलाई सहज हुने बताए । यसले समयसँगै पैसाको पनि बचत हुने बताए । क्याम्पसमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्