पञ्चकन्या गाउँपालिकामा स्तनपान कक्षको उद्घाटन

पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको घोषणा कार्यक्रम सम्पन्न
नुवाकोट,जेष्ठ २२ — जिल्लाको पञ्चकन्या गाउँपालिकामा बिहीबार एक विशेष कार्यक्रमका साथ पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष विमला के.सी सबै वडाध्यक्षहरू, गाउँपालिकाका जनप्रतिनिधिहरू तथा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य पालिकाभित्रका सबै बालबालिकालाई अनिवार्य खोप सुनिश्चित गर्दै खोप अभियानको दिगोपना कायम गर्नु रहेको थियो। यस घोषणासँगै पञ्चकन्या गाउँपालिका खोप सुनिश्चितता तथा स्वास्थ्य सेवामा अग्रसर रहेको संकेत मिलेको छ।
यसै अवसरमा स्तनपान कक्षको औपचारिक उद्घाटन पनि गरिएको छ। मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनका लागि अत्यन्त महत्वपूर्ण मानिने स्तनपान कक्षको स्थापनाले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरू तथा स्वास्थ्यकर्मीहरूले खोप तथा पोषणसम्बन्धी जनचेतना अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।
पञ्चकन्या गाउँपालिकाको यो पहलले सम्पूर्ण समुदायमा स्वास्थ्यप्रति सकारात्मक सन्देश प्रवाह गर्नुका साथै अन्य पालिकाहरूलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।