लोक सेवा आयोगप्रति जनविश्वास अझै प्रबल : प्रधानमन्त्री ओली



काठमाडौं,असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगप्रति जनताको विश्वास निष्पक्षता कायम गर्ने कुरामा अझै प्रबल रहेको बताएका छन्।

आयोगको हिरक जयन्ती अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगले योग्यता, निष्पक्षता र स्वच्छता कायम गर्दै निजामती, सुरक्षा निकायलगायतका संस्थाहरूमा पदपूर्तिमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

“नेपाल र नेपालीको चाहनाअनुसार आवश्यक जनशक्ति छनोटका लागि आयोगले परीक्षा प्रणालीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउँदै आएको जानकारी पाउँदा खुशी लागेको छ,” प्रधानमन्त्री ओलीले भने, “आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउने र आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझाव कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्छ।”

सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको भन्दै उनले आयोगले युवा पुस्तामा विश्वासको वातावरण सृजना गर्दै राष्ट्रसेवामा सबैलाई प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि थिए।

प्रतिक्रिया दिनुहोस्