उपकरणले बदलिंदै कृषिको रूप: विदुर नगरमा यान्त्रिकरणमार्फत किसानको जीवनशैलीमा परिवर्तन



नुवाकोट,असार १८ — कृषि उपज उत्पादनमा सशक्त वृद्धि गर्ने लक्ष्यसहित नुवाकोटको विदुर नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण प्रदान गरेको छ। यस प्रयासमार्फत कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन दिई किसानको श्रम, समय र उत्पादन क्षमता तीनै क्षेत्रमा सुधार ल्याउने उद्देश्य लिइएको छ।

विदुर नगरपालिका–३ सिर्खालीमा सञ्चालनमा आएको “समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम” अन्तर्गत २७ जना किसानलाई पेट्रोलबाट सञ्चालन हुने हाते ट्याक्टर तथा १० जनालाई मकै गोड्ने मेशिन वितरण गरिएको हो। नगरपालिकाले कुल लागतको ८० प्रतिशत अनुदानमा किसानलाई उपकरण उपलब्ध गराएको हो।

कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गर्दै मेयर राजन श्रेष्ठले कृषिमा प्रविधिको प्रयोगले उत्पादन लागत घटाउने, समयको बचत गराउने र उत्पादकत्व वृद्धि गराउने विश्वास व्यक्त गरे। उनले किसानलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले ठोस प्रभाव पार्ने बताए।

कार्यक्रममा उपमेयर प्रभा बोगटी, कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनाल, वडा नं. ३ का अध्यक्ष बद्रीप्रसाद रिमाललगायत वक्ताहरूले कृषि प्रवर्द्धनमा यस्ता योजनाहरू निर्णायक सावित हुने बताए।

“समुदायमा आधारित एक वडा, एक कृषि उत्पादन कार्यक्रम तरकारी खेती समिति”का पदाधिकारी, स्थानीयवासी, किसान तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा कृषकहरूमा नयाँ आशा पलाएको देखिन्थ्यो। सहभागी किसानहरूले यस्ता उपकरणले आफूहरूको उत्पादन लागत घट्ने र आम्दानी बढ्ने विश्वास व्यक्त गरे।

यस कार्यक्रमले किसानलाई सशक्त बनाउँदै विदुर नगरलाई कृषि आधुनिकताको नयाँ मोडेलतर्फ अग्रसर गराएको छ। यान्त्रिकरणको सुरुवातसँगै विदुर नगरको कृषि उत्पादन वृद्धि हुने मात्र होइन, समग्र ग्रामीण आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्