पञ्चकन्या गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तह घोषणा



नुवाकोट, असार १८ । जिल्लाको पञ्चकन्या गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तहको रूपमा घोषणा गरिएको छ। गाउँपालिकामा आयोजित विशेष समारोहबीच आजदेखि लागु हुने गरी उक्त घोषणा गरिएको हो।

कार्यक्रम पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं हालका सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी विशेष अतिथि रहेका थिए।

साथै गाउँपालिकाका उपाध्यक्ष विमला के.सी., प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, वडाध्यक्षहरू, कार्यपालिका तथा गाउँसभा सदस्यहरू, जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सम्पूर्ण पालिका कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, सुरक्षा निकाय तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा पञ्चकन्या गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयहरूलाई आवश्यक शिक्षण सामग्री पनि हस्तान्तरण गरिएको छ। यस कार्यक्रममार्फत शिक्षा क्षेत्रको पहुँच र गुणस्तर अभिवृद्धि गर्दै कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोस् भन्ने उद्देश्य लिएको जनाइएको छ।

गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको यो ऐतिहासिक निर्णयले स्थानीय स्तरमै शैक्षिक समानता र समावेशीता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्