डोल्पामा नक्कली विद्यालय खडा गरी सात लाखभन्दा बढी रकम भ्रष्टाचार आरोप

डोल्पा, असार १९– डोल्पाको तत्कालीन दुनै गाविसमा अवस्थित नक्कली विद्यालय खडा गरी सात लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा जिल्ला प्राविधिक कार्यालय दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा अवस्थित नरहेको ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’ को नाममा योजना बनाई विद्यालय भवन निर्माणको नाममा रकम निकासा गरिए पनि सो विद्यालय अवस्थित नरहेको र भवन पनि निर्माण नभएको पुष्टि भएको छ।
पौडेलका अनुसार आर्थिक वर्ष २०६७/६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र विद्यालय भवनसमेत निर्माण नभएको स्पष्ट विवरण जिल्ला शिक्षा कार्यालय डोल्पाबाट प्राप्त भएको हो। आयोगका अनुसार सो क्षेत्रको साविक दुनै गाविस वडा नं. २ र ३ मा श्री लालीगुँरास आधारभूत विद्यालय मात्रै सञ्चालनमा रहेको छ।
उक्त भ्रष्टाचार प्रकरणमा इन्जिनियर पजियारसहित तत्कालीन लेखापाल मनिराम कुर्मी, दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध झुटा तथा नक्कली कागजात तयार पारेर रकम भुक्तानी लिएको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो रकम सात लाख ६० हजार रुपैयाँ कायम गरी असुल उपरको मागसहित विशेष अदालतमा अभियोग दायर गरेको छ।