नुवाकोटको शिवपुरीमा दलित सशक्तिकरण कार्यक्रम, सिलाई र आरन सामग्री वितरण

नुवाकोट, असार १९ । नुवाकोटको पूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकामा दलित सशक्तिकरण कार्यक्रम सञ्चालन गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाले दलित समुदायलाई लक्षित गर्दै विभिन्न सीपमूलक सामग्री वितरण गरेको हो।
कार्यक्रमअन्तर्गत शिवपुरी गाउँपालिका–३ र ८ का दलित परिवारलाई आरन तथा सिलाई मेसिन प्रदान गरिएको हो। गाउँपालिकाको शेरावगरस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले सामग्री हस्तान्तरण गर्दै युवाहरुलाई सिपको माध्यमबाट स्वरोजगार बन्ने अवसर उपयोग गर्न आग्रह गरे।
कार्यक्रममा १० जनालाई एक/एक थान विद्युतीय सिलाई मेसिन, पाँच जनालाई एक/एक थान आरनको मेशिन तथा दुई जनालाई चार/चार बण्डल जस्तापाता हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।
सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष केशवप्रसाद रिजाललगायतको सहभागिता थियो। उनीहरूले कार्यक्रमले दलित समुदायको सशक्तिकरण, क्षमता अभिवृद्धि तथा स्वरोजगारमा टेवा पु¥याउने विश्वास व्यक्त गरे।