नुवाकोटको विद्यालयमा रुम टु रिड र रुडेकको कार्यक्रम: पढ्छन् साना बालबालिका फरर पाठ्यपुस्तक

नुवाकोट,असार २० । “सबै शिक्षकले यस्तै तालिम पाउने व्यवस्था होस्। सिकाइ सजिलो र रमाइलो बनाउने यस्ता तालिमले विद्यालयको परिवेश नै परिवर्तन गर्छ।” — यो अनुभव हो, लिखु गाउँपालिका -६ मा अवस्थित बच्छला माध्यमिक विद्यालयका शिक्षक कृष्ण जोशीको। उनी हालै सम्पन्न साक्षरता तालिमपछि आफ्नो कक्षाकोठामा फर्किएर सिकाइको वातावरणमा ल्याउने स्पष्ट सकारात्मक परिवर्तन सम्झिएरै उत्साहित छन्।
विगतमा नुवाकोटका धेरै विद्यालयमा कक्षा ८ वा एसईई उत्तीर्ण गरिसकेका विद्यार्थीहरूमा समेत पठन सीपको कमी देखिँदा शिक्षामा गुणात्मक सुधार कसरी सम्भव छ भन्ने प्रश्न उठ्थ्यो। तर पछिल्लो समय रुम टु रिड र रुडेक नेपालको सहकार्यमा सञ्चालित साक्षरता कार्यक्रमले बाल्यावस्थामै पठन क्षमतामा आमूल परिवर्तन ल्याएको प्रस्ट देखिन थालेको हो ।
बट्टारमा आयोजित चार दिने साक्षरता तालिममा विदुर, लिखु र तादी गाउँपालिकाका २५ जना शिक्षक सहभागीथिए । तालिममा कक्षा १ र २ का शिक्षकहरूलाई लक्षित गर्दै नेपाली भाषा शिक्षणलाई प्रभावकारी बनाउन कक्षा व्यवस्थापन, पाठ योजना निर्माण, शैक्षिक सामग्रीको प्रयोग, सिकाइ चुनौती समाधानजस्ता व्यवहारिक पक्षमा सघन अभ्यास र प्रशिक्षण दिइएको थियोे । तालिम रुम टु रिडका वरिष्ठ प्रशिक्षक ओमकुमार श्रेष्ठ र रुडेक नेपालका फुर्कु घलेले प्रशिक्षण दिएका थिए भने थप सहजीकरण संस्थाका सिर्जना खड्का र प्रशान्त तामाङले गरेका थिए।
परियोजना लागू भएसँगै विद्यालयमा उल्लेखनीय रूपान्तरण देखिन थालेको सहभागी शिक्षकहरु बताउँछन् । “साना नानीबाबुहरू अब फरर पाठ्यपुस्तक पढ्न जान्ने, अक्षर छुट्याउने, कथा बुझ्ने, संवाद गर्न सक्ने र आत्मविश्वासका साथ सिक्न सक्ने भएका छन्। उनीहरू अब किताबसँग डराउँदैनन्, बरु पढ्न रुचाउँछन्।” तालिममा सहभागी शिक्षक मिना शाह भन्छिन् ।
हाल २०२३ परियोजना अन्तर्गत ककनी, तादी, लिखु र विदुर गाउँपालिकाका २४ विद्यालयमा आर्थिक तथा प्राविधिक सहयोगसहित कार्यक्रम सञ्चालनमा छ। शिवपुरीमा भने अघिल्लो वर्षदेखि नै कार्यक्रम सञ्चालनमा रहँदै आएको छ, जहाँ ३३ वटा विद्यालय समावेश छन्। किस्पाङ गाउँपालिकाका १८ तथा दुप्चेश्वरका ४२ विद्यालयमा भने कार्यक्रम प्राविधिक सहयोगको आधारमा सञ्चालन भइरहेको छ।
रुम टु रिड र रुडेक नेपालको सहयोगमा हाल भाषा पाठ्यपुस्तकको व्यवस्था, पुस्तकालयको व्यवस्थापन, कक्षाकोठाको बसाइँ व्यवस्थापन, शिक्षक तालिम, तथा विविध पढाई गतिविधिका साथ परामर्श समेत प्रदान गरिँदै आएको छ। यसले कक्षा कोठामा सिकाइलाई थप व्यवस्थित, बालमैत्री र सजीव बनाउन ठूलो टेवा पु-याएको छ।
यस मोडेलमा स्थानीय तहहरूले समेत अभिरुचि पूर्वक सक्रिय भूमिका निभाएको छ । पालिकाहरूले शिक्षक तालिम, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको छपाइ–वितरणको जिम्मेवारी लिएका छन् भने रुम टु रिड र रुडेक नेपालले प्रशिक्षक व्यवस्थापन तथा प्रारम्भिक आर्थिक र प्राविधिक सहयोग प्रदान गर्दै आएका छन्। पालिकाको मागअनुसार कार्यक्रम विस्तार भैरहेको रुडेक नेपालका फुर्कु घले बताउँछन् ।
शिक्षकहरू भन्छन्— यदि सिकाइको जग सानै कक्षामा बलियो बनाइयो भने, भविष्यमा गुणस्तरीय शिक्षा पक्कै सम्भव हुन्छ। नुवाकोटका विद्यालयहरूमा अहिले देखिएको परिवर्तनले शिक्षा प्रणालीमै आशाको नयाँ किरण ल्याएको छ।