डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

झापा,असार २१ । झापामा डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत ११ वर्षीया बालिकाको मृत्यु भएको हो । झापा शिवसताक्षीका सुमन राईकी छोरी सुरविरा राईलाई स्वास्थ्यमा समस्या भएपछि बिहीबार बीएण्डसीमा भर्ना गरिएकोमा हिजो बिहान उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए ।
यस वर्ष पहिलो पटक झापामा डेंगुबाट मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको थियो । मनसुन सुरु भएसँगै झापामा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । डेंगुबाट संक्रमित हुनेहरूमा अधिकांश बिर्तामोडका रहेका छन् । फोकल पर्सन बरालका अनुसार हाल बीएण्डसीमा ४८, दमकमा १ र गौरादहमा ६ जना डेंगु संक्रमित उपचारमा रहेका छन् ।
विगतका वर्षहरू जस्तै यस वर्ष पनि डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ तर झापामा बाह्रै महिना डेंगु देखिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।