विदुरस्थित तीनधारे पिपलडाँडा माविका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

विदुर, असार २२ –विदुर नगरपालिका–१२ स्थित तीनधारे पिपलडाँडा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ मा कक्षा १० (एसईई) मा सहभागी सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ। सो उपलब्धिको अवसरमा विद्यालयले शनिवार विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ उपस्थित रहेका थिए । उनले सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारलाई उत्कृष्ट परिणामको लागि बधाई ज्ञापन गर्दै सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाको सकारात्मक उदाहरण प्रस्तुत भएको बताए।
कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. १२ का अध्यक्ष उपेन्द्र खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारीहरू, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्मान समारोहमा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरू र विषयगत शिक्षकहरूलाई प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। विद्यालयले भविष्यमा पनि उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाएको छ।