पञ्चकन्यामा तीन महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानपूर्वक विदाई



नुवाकोट, असार २२ । पञ्चकन्या गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमध्ये तीन जना स्वयंसेविकालाई सम्मानपूर्वक विदाई गरेको छ।

पञ्चकन्या गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविका सम्मानजनक विदाई कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी, गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत हिराधन राईको विशेष आतिथ्यतामा आइतबार सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, कर्मचारीहरू, समितिका अन्य सदस्यहरू, स्वास्थ्य संस्थाका प्रतिनिधिहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति थियो।

विदाई गरिनेमा वडा नं. २ अन्तर्गत कविलास स्वास्थ्य चौकीकी लिला कुमारी आचार्य र फुलमती तामाङ, साथै वडा नं. ३ अन्तर्गत पञ्चकन्या स्वास्थ्य चौकीकी दुर्गा कुमारी थापा रहेका छन्।

उनीहरूलाई दीर्घकालीन समर्पित सेवाको कदर स्वरूप प्रशंसापत्र र स्मृतिचिन्ह प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा वक्ताहरूले स्थानीय स्वास्थ्य क्षेत्रमा उनीहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै महिला स्वयंसेविकाहरूको निरन्तर सेवा भावना उदाहरणीय रहेको उल्लेख गरे।

गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा समर्पित महिला स्वयंसेविकाहरूको योगदानलाई संस्थागत रूपमा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्