धनकुटामा करोडौँको पर्यटन पूर्वाधार प्रयोगविहीन, प्रचारप्रसारको अभावमा पर्यटकको चहलपहल न्यून

धनकुटा, असार २३ – धनकुटा नगरपालिका वडा नं. १ स्थित ओक्मालुङ्ग गुफा र नजिकैको सानो झरनालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारमार्फत करिब एक करोड रुपैयाँ लगानी गरी पूर्वाधार निर्माण गरिए पनि अपेक्षित रूपमा पर्यटक भित्रिन सकेका छैनन्।
गुफासम्म पुग्न झोलुङ्गे पुल र सिँढी निर्माण गरिएको छ भने गुफाभित्र बत्ती र आन्तरिक सिँढीको व्यवस्था गरिएको छ। त्यस्तै झरनास्थलमा पौडी पोखरी, चौतारी, शौचालयलगायत संरचना निर्माण गरिए पनि प्रयोगमा नआएको स्थानीयको गुनासो छ।
धनकुटा नगरपालिकाले वडा नं. १ को हिले सिरानमा भ्युटावर, वडा नं. ८ को चुलीवन पार्क र वडा नं. २ को मधुगंगाधाममा समेत पूर्वाधार निर्माण गरेको छ। नगर प्रमुख चिन्तन तामाङका अनुसार “धनकुटालाई प्रमुख गन्तव्य बनाउन करोडौँ लगानी गरिए पनि प्रचारप्रसार कमजोर भएकाले पर्यटक आउन सकेका छैनन्।”
उनले कोशी प्रदेश सरकारले पर्यटन भ्रमण वर्ष मा धनकुटालाई प्राथमिकता दिए मात्र आगन्तुकको संख्या बढ्ने विश्वास व्यक्त गरे। उनले भारतको विहारसहित आन्तरिक पर्यटक तान्न विशेष रणनीति बनाउनुपर्ने बताए।
धनकुटाको अन्य स्थानीय तहमा पनि अवस्था उस्तै छ। पाख्रिवास नगरपालिकाको जलदेवी सिमसार (३ करोड लागत), सुन्तले डाँडा (१ करोड), राम्चे डाँडा, छथर जोरपाटीको ध्वजे र पटेक डाँडा, महालक्ष्मी नगरपालिकाको २.८ करोड लागतको वनझाँक्री पार्कसहितका संरचना समेत प्रयोगविहीन बनेका छन्।
अर्थशास्त्रका उपप्राध्यापक भेषराज खत्रीका अनुसार “स्थानीय आवश्यकता नबुझी पहुँचको आधारमा पूर्वाधार निर्माण हुँदा स्थानीयले अपनत्व लिँदैनन्, जसले संरचना विफल बनाउँछ।”
पर्यटन तथा कृषि अभियन्ता जीवन कुमार राईले देशबाहिर रहेका धनकुटेली, सेलिब्रेटी तथा पूर्व राष्ट्रपतिको प्रयोगमार्फत प्रचार गर्नुपर्ने बताए। “भौतिक संरचना मात्र होइन, त्यसपछि प्रचारमा पनि लगानी आवश्यक छ,” उनले भने।
अहिले अधिकांश संरचना स्थानीयको पहुँचबाहिर र जानकारीबिना निर्माण गरिएकाले संरक्षणमा पनि चुनौती देखिएको छ। विज्ञहरूका अनुसार प्रचारप्रसार, स्थानीय सहभागिता र दीर्घकालीन रणनीति नहुँदा करोडौँको लगानी व्यर्थजस्तै हुने खतरा बढेको छ।