सांसद रेखा शर्माको टिप्पणी : “समितिमा दलको ह्विप मानिँदैन”



काठमाडौं, असार २३ — नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दलका प्रमुख सचेतकको ह्विप मान्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेकी छिन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलका क्रममा बोल्दै सांसद शर्माले भनिन्, “कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिँदैन। त्यस कारण आ–आफ्ना ह्विप कहाँ लाउने हो, आफ्नो ठाउँमा लाउनु।”

उनले समितिको बैठक सुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने प्रस्ताव राख्नुको सट्टा बैठक स्थगित गर्ने प्रस्ताव आउनु आपत्तिजनक भएको बताउँदै भनिन्, “टाढा–टाढाबाट सदस्यहरूलाई बोलाएर बैठक सुरु नहुँदै स्थगन प्रस्ताव आउँदा यसले राम्रो सन्देश दिन्छ? हामी राम्रो कानुन बनाउँदै छौँ भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ?”

शर्माले सरकारले सहमति भइसकेका विषयहरूमा “डोजर चलाएको” भन्दै विधेयक प्रक्रियाप्रति प्रश्न उठाइन । उनको भनाइमा, “अरु नयाँ कुरा आएको भए पनि हुन्थ्यो, तर हामीले सहमति गरेका विषयहरूमा बल्झाउने प्रयास भइरहेको छ। यस्तोमा हामी ताली बजाउन सक्छौं?”

सांसद शर्माको भनाइप्रति नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आपत्ति जनाउँदै नियमावलीको उल्लङ्घन भएको भन्दै उठेर आपत्ति जनाए । उनको आपत्तिपछि समिति सभापति अम्मरबहादुर थापाले क्षमा मागेपछि बैठक शान्त ढङ्गमा अघि बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस्