काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ३९५ बस्ती मनसुनजन्य विपत्तिको उच्च जोखिममा
काभ्रेपलाञ्चोक, असार २३ । यस वर्षको मनसुनमा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा पर्ने ३९५ बस्ती उच्च जोखिममा परेको पाइएको छ। जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त विवरण अनुसार ती बस्तीमा करिब ६ हजार ३ सय ७५ घरपरिवारका २३ हजार ४५ नागरिक बाढीपहिरोबाट प्रभावित हुने अनुमान गरिएको हो।
प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक उमेश ढकालका अनुसार रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकु खोला र दाप्चा खोलाजस्ता नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक बढी जोखिममा छन्। समितिले स्थानीय तह, जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा यो प्रक्षेपण गरेको हो।
सवैभन्दा बढी जोखिममा रहेको रोशी गाउँपालिकामा ५६ बस्ती, र सबैभन्दा कम खानीखोला गाउँपालिकामा ९ बस्ती रहेका छन्। नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, बनेपा, पनौती, धुलिखेल, तेमाल, बेथानचोक, महाभारत, चौँरीदेउराली र भुम्लुमा पनि सयौँ घरपरिवार जोखिममा रहेको उल्लेख गरिएको छ।
गत वर्षको असोजमा भएको बाढीपहिरोमा काभ्रेपलाञ्चोकमै देशभरको सबैभन्दा बढी ७८ जनाको मृत्यु भएको थियो। तीमध्ये ३३ महिला, २९ पुरुष, ९ बालक र ७ बालिका थिए। यस घटनामा २१ जना विद्यार्थी पनि परेका थिए।
समितिले सम्भावित विपद् न्यूनीकरण तथा उद्धारका लागि तयारी अवस्थाको व्यवस्थापन गरिएको जनाएको छ। जिल्लाका १३५ वटै वडामा हेलिप्याड, सुरक्षित स्थल, विद्यालय, क्लब तथा सामुदायिक भवनलाई आपत्कालीन प्रयोजनमा प्रयोग गर्न मिल्ने गरी तयारी गरिएको बताइएको छ।

