इलाममा बाढी–पहिरो : २ जनाको मृत्यु, १५ भन्दा बढी बेपत्ता
इलाम, असोज १९ — अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोले इलामका विभिन्न स्थानमा जनधनको ठूलो क्षति पुर्याएको छ। इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर माथिबाट आएको पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार घाइते दुई जनालाई उपचारका लागि अस्पताल पुर्याइएको छ। उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीको टोली घटनास्थलमा खटिएको इलाम प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी, माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य पहिरोमा परेर बेपत्ता भएका छन्। रातिदेखि सम्पर्कविहीन बनेका उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलामको मांसेबुंग गाउँपालिका–१ मा बाढीले पुल बगाएको छ। सो पालिकामा पनि पहिरोले पुरिँदा पाँच जना हराएको खबर आएको छ। यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर बेपत्ता भएका छन्।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अहिले उद्धार कार्य तीव्र रूपमा भइरहेको बताइन्। उहाँले भनिन्, “मृतक र बेपत्ताको आधिकारिक सङ्ख्या अझै पुष्टि हुन बाँकी छ, सबै निकाय उद्धारमा जुटेका छन्।”
इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाका अनुसार बिहानबाट वर्षा रोकिएपछि उद्धार कार्य सहज भएको छ। जोखिमयुक्त क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

