जनकपुरलाई हराउँदै चितवनले प्लेअफको सम्भावना कायमै राख्यो
काठमाडौं,कात्तिक २७ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवन राइनोजले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ।
शुक्रबार भएको दोस्रो खेलमा जनकपुरले दिएको ८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। जितसँगै चितवनले ७ अंक जोडेको छ। अब कर्णाली याक्ससँग हुने अन्तिम खेल जित्न सके चितवन प्लेअफमा पुग्नेछ। पराजित जनकपुर भने ४ अंकमै सीमित भएको छ।
चितवनको जितमा डेविड मलानले अविजित ३५ रन बनाए। कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिश्राले १२ रनको योगदान गरे। चितवनले ३७ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो। तर मलानले टोलीलाई जितसम्म पुर्याए।
जनकपुरका राहुल यादवले तीन विकेट लिए भने ललित राजवंशीले दुई र विशाल सुस्लिङले एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो। उसका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले अविजित १०–१० रन जोडे।
चितवनका रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा एक मेडनसहित दुई रन खर्चेर तीन विकेट लिए। कमल ऐरी, सिकन्दर राजा र कामिल मिश्राले दुई–दुई तथा रिजन ढकालले एक विकेट लिए।

