भीमफेदी दुर्घटनाका मृतक परिवारलाई मधेश प्रदेश सरकारले जनही एक लाख राहत दिने
जनकपुर,कात्तिक २७ । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाहरूका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिनुभयो।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।
त्यसैगरी, मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेदेखि सञ्चालन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री साहले बताउनुभयो। मन्त्रिपरिषद्को निर्णयसँगै लामो समयदेखि रोकिएको प्रदेशसभा बैठक पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ।

