इलाममा बाढी–पहिरोले १८ जनाको मृत्यु, उद्धारमा सेना र प्रहरी परिचालन



इलाम, असोज १९ — लगातारको अविरल वर्षापछि इलामका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म जिल्लाका विभिन्न स्थानीय तहमा गरी १८ जनाको मृत्यु भएको पुष्टि भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिनुभयो।

उहाँका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही वडाको धुसुनेमा २ जना, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जना, र इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना गरी जम्मा १८ जनाको मृत्यु भएको पुष्टि भएको हो।

बाढी र पहिरो प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि परिचालन गरिएको एसएसपी पोखरेलले बताउनुभयो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुरक्षित स्थानमा पुर्‍याइएको र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो।

वर्षाका कारण जिल्लाका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन् भने सञ्चार र विद्युत् सेवा समेत अवरुद्ध हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रशासनले जनाएको छ। प्रभावित बस्तीहरूमा राहत सामग्री पठाउने तयारी गरिएको र उद्धार टोलीहरू निरन्तर खटिएका छन्।

स्थानीयवासीहरूले रातभरै वर्षा र पहिरोको डरले घर छाडेर सुरक्षित स्थानमा बस्नुपरेको बताएका छन्। यसबीच, जल तथा मौसम विज्ञान विभागले अझै केही दिनसम्म मध्यमदेखि भारी वर्षा जारी रहने पूर्वानुमान गर्दै सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्