पछिल्ला दुई दिनमा विपद्का घटनाबाट ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौं, असोज १९ — पछिल्ला दुई दिनमा देशभर विभिन्न विपद्का घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीपहिरो, चट्याङ र सवारी दुर्घटनाबाट यो जनधनको क्षति भएको हो।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार इलाम जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकामा ५ जना, इलाम नगरपालिकामा ६ जना, देउमाई नगरपालिकामा २ जना, फाकफोकथुम गाउँपालिकामा १ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना, माइजोगमाई गाउँपालिकामा ८ जना, र सन्दकपुर गाउँपालिकामा ३ जना गरी ३४ जनाको मृत्यु भएको हो। साथै, इलाममा २ जना गम्भीर घाइते भएका छन्।
यसैगरी, अन्य जिल्लामा पनि बाढीपहिरोका घटनाबाट उदयपुरमा २ जना, रौतहटमा ३ जना, रसुवामा ४ जना, र काठमाडौंमा १ जना गरी थप जनहानि भएको छ।
त्यसैगरी, खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङ लागी ८ जना घाइते भएका छन्। अर्कोतर्फ, पाँचथरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका अनुसार हालसम्म ११ जना बेपत्ता रहेका छन् भने सुरक्षाकर्मीहरू उद्धार तथा राहत कार्यमा खटिएका छन्। अविरल वर्षाका कारण धेरै स्थानमा सडक, संचार र विद्युत् सेवा अवरुद्ध भएका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

