ठूलो वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, तर मनसुन अझै केही दिन रहने
काठमाडौं, असोज १९— नेपालमा निरन्तर वर्षा गराइरहेको ठूलो न्यून चापीय प्रणाली देश बाहिरिएको छ। उक्त प्रणाली बाहिरिएसँगै देशभर मौसममा सुधार देखिन थालेको भए पनि मनसुन अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २० गते अपरान्हसम्म नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहने उल्लेख गरेको छ। विभागका अनुसार सामान्यतया मनसुन असोज १६ गते नेपालबाट बर्हिगमन हुने भए पनि यस वर्ष केही ढिलो हुने सम्भावना रहेको छ।
विभागका अनुसार अहिले पनि कोशी र मधेसका केही जिल्लामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले भने सोमबारदेखि कतिपय स्थानमा मध्यम वर्षा भएपछि मौसममा क्रमशः सुधार आउने जानकारी दिएको छ।
विभागले अझै पनि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।



