मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकबाट ८ बुँदे निर्णय, राहत र उद्धारमा तीव्रता ल्याइने



काठमाडौँ, असोज १९ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा बसेको बैठकले राहत, उद्धार र पुनर्स्थापना कार्यलाई तीव्रता दिने उद्देश्यले ८ बुँदे निर्णय सार्वजनिक गरेको छ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा उत्पन्न मनसुनजन्य विपद् र त्यसबाट प्रभावित जनजीवनका विषयमा छलफल गरी बैठकले तत्कालीन राहत, उद्धार र पुनर्स्थापना प्रक्रियालाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको हो।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्ट द्वारा हस्ताक्षरित विज्ञप्तिमा असोज १७ गतेदेखि परेको अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत वितरण गर्ने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई निरन्तरता दिने र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी पनि अघि बढाइने भएको छ।

त्यसैगरी, प्रारम्भिक क्षतिको आकलन, प्रभावित जनसङ्ख्या र क्षेत्रको विवरण यथाशीघ्र संकलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको छ।

बैठकले विपद् व्यवस्थापनका काममा संलग्न सबै संघ–प्रदेश–स्थानीय निकायबीच समन्वय सुदृढ गर्न र आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्