काठमाडौंका सबै प्रकारका कार्यालय आजबाटै खुल्ने
काठमाडौं,असोज २० । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको गरेको ‘काठमाडौं जिल्लाका कार्यालयहरू खोल्ने र सेवा सुचारु राख्ने विषयको अत्यन्त जरुरी सूचना’ सो कुरा उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘‘विगत २ (दुई) दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२–०६–१९ र २० गते २ (दुई) दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२–०६–२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’’
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले आइतबार राती १० बजे जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

