स्याङ्जामा साल्ट ट्रेडिङको नुनमा मरेको भ्यागुतो भेटियो, उपभोक्तामा आक्रोश



स्याङ्जा, असोज २०  । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटभित्र मरेको भ्यागुतो फेला परेको छ ।

वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित मिर्दीबाट खरिद गरेको नुनमा सुकेको अवस्थामा मरेको भ्यागुतो भेटिएको बताएका छन् ।

थापाले गोरखापत्रसँग कुरा गर्दै भने, “बुवाको मृत्यु भएको थियो, उम्कने दिनमा आफन्तलाई खुवाउन भनी ल्याएको नुनमा मरेको भ्यागुतो भेटियो ।” उनले थपे, “यदि भ्यागुतोको सट्टा कुनै विषाक्त वस्तु परेको भए त हामी सबैको ज्यान जोखिममा पर्न सक्थ्यो ।”

उनले सरोकारवालाको लापरबाहीका कारण उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको आरोप लगाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले पनि उक्त घटनालाई अत्यन्त दुःखद बताउँदै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने निकायमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

उनका अनुसार प्रशोधन गरी सिधै उपभोक्ताले प्रयोग गर्न सक्ने नुनमा यस्तो घटना हुनु उपभोक्ताप्रति ठुलो बेवास्ता हो ।

यसैबीच घटनाबारे अनुसन्धान सुरु भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन् । उनले भने, “वास्तविकता के भएको हो भन्ने बुझ्ने क्रममा छौँ, आवश्यक निर्णय पछि लिइनेछ ।”

घटनापछि जिल्ला प्रशासन कार्यालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरालाई घटनाबारे विस्तृत अनुसन्धान गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्