नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा



चितवन, असोज २०। अविरल वर्षाका कारण केही दिनदेखि रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ ।

गत शुक्रबार र शनिबार लगातार वर्षा भएपछि सडकमा पहिरोको उच्च जोखिम रहेको भन्दै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत रोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडकको अवस्था स्थिर भएपछि आज बिहानदेखि यातायात सेवा पुनः सुरु गरिएको हो ।

उनका अनुसार सडक सञ्चालनमा आएपछि पहिलेदेखि विभिन्न स्थानमा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् ।

चितवनका १४ वटा स्थानमा स्थापना गरिएको विश्राम कक्ष (होल्डिङ सेन्टर) मा रोकिएका लामो तथा छोटो दूरीका सवारी साधनहरू पनि बिहानैदेखि गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्