ओली र लेखकविरुद्ध ज्यान मुद्दामा जाहेरी, प्रहरीले दर्ता गर्न अस्वीकार
काठमाडौँ, असोज २० । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध ज्यान मुद्दामा प्रहरीमा जाहेरी परेको छ। ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर गएका हुन्।
गुरुङले गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनका क्रममा युवाहरूको ज्यान गएको घटनामा कारबाहीको माग गर्दै जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
एक प्रहरी अधिकारीका अनुसार, सो घटनाको विषयमा हाल सरकारले उच्चस्तरीय जाँचबुझ आयोगमार्फत छानबिन गरिरहेको कारण जाहेरी तत्काल दर्ता नगरिएको हो।
यसैबीच, आजै जेनजी आन्दोलनका अगुवाहरूले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै ‘एरेस्ट केपी ओली’ नामक सामाजिक सञ्जाल अभियान सुरु गरेका छन्। उक्त अभियानमा फेसबुक, ट्वीटर (X) र टिकटकमार्फत #ArrestKPOli र #JusticeForGenZ ह्यासट्याग प्रयोग गरी व्यापक समर्थन जनाइएको छ।

