मकवानपुरमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते
मकवानपुर, असोज २१ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सिन्धुलीको भिमानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ००२/००१ ज ००७२ नम्बरको ईभी गाडी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
ठक्करका कारण ईभीमा सवार १३ जना यात्रु र मोटरसाइकल चालक गरी १४ जना घाइते भएका छन्। सबै घाइतेलाई प्रारम्भिक उपचारका लागि बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा लगिएको र त्यहाँबाट थप उपचारका लागि हेटौडा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

