नुवाकोट देवघाटमा ज्येष्ठ नागरिक सम्मानित, वृद्धाश्रमलाई आर्थिक सहयोग पनि प्राप्त
नुवाकोट, असोज २१ । नुवाकोटको विदुर नगरपालिका–५, देवघाटमा अवस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानले पाँच जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। सो अवसरमा प्रतिष्ठानलाई एकैपटक उल्लेख्य आर्थिक सहयोगसमेत प्राप्त भएको छ।
“खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ – आफू मेटाई अरूलाई दिनु जहाँ छ” भन्ने मूल नारासहित प्रतिष्ठानले ३५औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरी सम्मान कार्यक्रम सम्पन्न गरेको हो।
सम्मानित हुनेहरूमा तारकेश्वर गाउँपालिका–५ गोस्र्याङ स्थायी घर भई हाल वट्टारमा बसोबास गर्दै आएका ९२ वर्षीय बाबुराम शर्मा अधिकारी र ९१ बर्सीया उनकी धर्मपत्नी कृष्णकुमारी अधिकारी, ९१ वर्षीय केदारनाथ पराजुली, ८८ बर्सीया भद्रमाया न्यौपाने, र ८८ वर्षीय पदमप्रसाद न्यौपाने रहेका छन्।
उनीहरूलाई प्रतिष्ठानका तर्फबाट प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललगायत अतिथिहरूले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।
कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले ज्येष्ठ नागरिकहरू समाजका उदाहरणीय व्यक्तित्व भएको भन्दै, “उनीहरूको योगदान र जीवन अनुभव समाजको मार्गदर्शनका लागि प्रेरणादायी हुन्छ,” भन्नुभयो। अध्यक्ष नेपालले पनि समाजसेवा र मानवीय भावनाको कदरस्वरूप प्रतिष्ठानले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो।
यसै क्रममा विदुर नगरपालिका–१० गेर्खुटारकी दुर्गादेवी पाण्डेले आफ्ना पति स्व. रामबहादुर (लीलाबहादुर) पाण्डेको स्मृतिमा प्रतिष्ठानलाई रु १ लाख ७५ हजार आर्थिक सहयोग प्रदान गरेकी छन्। उक्त रकमबाट प्रतिष्ठानमा आश्रित ४० जना वृद्ध–वृद्धाका लागि पितृभोजन तथा वार्षिक श्राद्ध कार्यक्रम सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ।
त्यस्तै, बेलकटगढी नगरपालिका–८ निवासी पेशल नेपालले पनि आफ्नी आमा पम्फा शर्मा नेपालमार्फत प्रतिष्ठानको अक्षयकोष वृद्धिका लागि रु १ लाख ३९ हजार सहयोग गरेका छन्।
कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, सदस्य, सल्लाहकार, आश्रममा रहेका वृद्ध–वृद्धा र सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा वृद्धाश्रमका लागि प्राप्त सहयोगले ज्येष्ठ नागरिकहरूको सेवा र धार्मिक गतिविधिमा थप सहयोग पुग्ने आयोजकको भनाइ छ।

