ओली र लेखकविरुद्ध किटानी जाहेरी दर्ता, आन्दोलनमा गोली चलाउने आदेश दिएको आरोप



काठमाडौं, असोज २१ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मंगलबार किटानी जाहेरी दर्ता गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदका आफन्त तथा परिवारजनले काठमाडौं प्रहरी परिसरमा उक्त जाहेरी दर्ता गराएका हुन्।

जाहेरीमा ओली र लेखकमाथि आन्दोलनका क्रममा गोली चलाउने आदेश दिएको र निर्मम दमनको निर्देशन गरेको आरोप लगाइएको छ।

यसअघि “हामी नेपाल” का संस्थापक सुदन गुरुङ जाहेरी लिएर प्रहरी कार्यालय पुगेका थिए। तर प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। गुरुङले त्यसपछि निरन्तर दबाब र विरोध गर्दै आए। प्रहरीले दर्ता गर्न नमानेपछि उनले आफ्नो समूहसहित “सडकबाटै देखाइदिने” चेतावनीसमेत दिएका थिए।

उक्त परिस्थितिपछि प्रधानमन्त्री सुशीला कार्कीले सोमबार राति नै सबै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेकी थिइन्।

त्यसको भोलिपल्ट मंगलबार गुरुङ पीडितका आफन्त र परिवारजनहरूलाई लिएर पुनः प्रहरी परिसर पुगे र जाहेरी दर्ता गराउन सफल भए।

यसअघि नै सरकारले सो आन्दोलनमा भएको राज्यद्वारा दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिसकेको छ। आयोगले घटनाको कारण, जिम्मेवारी र दोषीहरू पहिचान गर्न कार्य प्रारम्भ गरिसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्