जेन–जी आन्दोलनको दमनबारे आयोगको भनाइ – फौजदारी अनुसन्धानका लागि प्रतिवेदन कुर्नु नपर्ने
काठमाडौं, असोज २१ । जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने स्पष्ट गरेको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै असोज ९ गते गृहमन्त्रालयले जारी गरेको निर्देशनप्रति ध्यानाकर्षण भएको जनाएको हो।
गृहमन्त्रालयले यसअघि प्रहरी प्रशासनलाई “आयोगले काम अघि बढाइसकेकाले तत्काल अनुसन्धान अघि नबढाउन” निर्देशन दिएको थियो।
तर, आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ“फौजदारी कसूरमा संलग्न जो कोहीमाथि नेपाल सरकारका संयन्त्रहरूले तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन।”
आयोगले आफ्नो काम छानबिन, सत्य तथ्य संकलन र सिफारिसमा सीमित हुने भएकाले, प्रहरी र कानूनी संयन्त्रहरूले अपराधका घटनामा तत्काल कारबाही गर्न सक्ने बताएको छ।

