नुवाकोट तारकेश्वरका १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न अध्यक्ष अधिकारीको निर्देशन
नुवाकोट,असोज २२ । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले पालिकाभित्रका बढी चहलपहल हुने १० स्थानमा निःशुल्क वाइफाई जडान गर्न निर्देशन दिएका छन्।
उनका अनुसार यो पहल गाउँपालिकाका युवा तथा बालबालिकाको खोज–अध्ययनमा सहयोग पुर्याउने र गृहिणी तथा ज्येष्ठ नागरिकहरूले सहर र विदेशमा रहेका आफन्तसँग सहज रूपमा सम्पर्क राख्न सक्ने उद्देश्यले गरिएको हो।
अध्यक्ष अधिकारीले बताएअनुसार, गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका धेरै जमघट र आवत–जावत हुने स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएको छ। सो योजनाको पहिलो चरणमा १० मुख्य स्थान चयन गरी इन्टरनेट जडान कार्य सुरु गर्न लागिएको हो।
उनले यो परियोजना गाउँको सूचना पहुँच, डिजिटल साक्षरता र नागरिक सुविधामा सुधार ल्याउने महत्वपूर्ण कदम भएको बताएका छन्।

