गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक



काठमाडौं,असोज २३ । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक अवस्थामा खिचिएको भिडियो क्लिप सार्वजनिक भएको छ।

जोशीको परिवारले सन् २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारका सदस्यहरूको संस्था होस्टेज फ्यामिली फोरमले उक्त जानकारी दिएको छ।

सार्वजनिक गरिएको भिडियो अक्टोबर ७, २०२३ मा किबुट्ज अलुमिममा भएको आक्रमणपछि अपहरण गरिएको केही समयमै खिचिएको बताइएको छ। इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई हमास नेतृत्वको आक्रमणका क्रममा आतंककारीहरूले अपहरण गरी गाजामा लगेका थिए।

भिडियो क्लिप करिब ३० सेकेन्ड लामो रहेको र त्यो जोशीको अपहरण भएको केही सातापछि खिचिएको बताइएको छ। भिडियो सार्वजनिक भएपछि उनको परिवार र नेपाली समुदायले जोशीको सकुशल मुक्तिको अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्