देशभर आंशिक बदली, केही प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौँ,असोज २३ — देशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने बाँकी भूभागमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव परेको छ भने गण्डकी प्रदेशको पश्चिमी भागमा पनि यसको असर परेको महाशाखाले जनाएको हो। यस प्रभावका कारण ती प्रदेशहरूमा सामान्यतया बदली रहेको छ।

बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। अहिले गण्डकी प्रदेशका केही स्थानमा, साथै कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, देशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना रहेको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्