विदुर–५ तल्लो पिपलटारका बस्तीमा खानेपानी सुधारका लागि पाइप हस्तान्तरण
नुवाकोट,असोज २३ — विदुर नगरपालिका वडा नं ५ तल्लो पिपलटारका वस्तीमा खानेपानी सेवा सरल र सहज बनाउन पाइप वितरण गरिएको छ। स्थानीयवासीको मागअनुसार विदुर नगरपालिकाले आवश्यक खानेपानीको पाइप उपलब्ध गराएको हो।
नगरप्रमुख राजन श्रेष्ठले बिहीबार उपभोक्तालाई ५० एमएमका चार सय मिटर पाइप हस्तान्तरण गर्नुभयो। यो पाइप वितरण विद्यमान खानेपानी योजनाको स्तरउन्नति र सुदृढीकरणका उद्देश्यले गरिएको हो।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, स्थानीय सरोकारवालाहरू र उपभोक्ता समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगरप्रमुख श्रेष्ठले खानेपानी मानवजीवनको आधारभूत आवश्यकता भएकाले नगरपालिकाले स्थानीय माग र आवश्यकता अनुसार योजनाहरू अघि बढाइरहेको बताउनुभयो।

