सप्तरीको रुपनीमा भीषण आगलागी, छ घर जलेर नष्ट — करिब ५० लाख रुपैयाँ बराबरको क्षति



सप्तरी,असोज २४— सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा गएराति भएको भीषण आगलागीमा छ वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । बिजुली सर्ट भएर लागेको उक्त आगलागीमा करिब ५० लाख ३० हजार रुपैयाँ बराबरको धनमाल तथा चौपायाको क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् ।

आगलागी बिहीबार राति करिब १० बजे ललित यादवको घरमा जडान गरिएको बिजुली मिटरको तार सर्ट हुँदा सुरु भएको थियो । आगो तीव्र गतिमा फैलिँदै ललित यादवका छोराहरू र छोरीको घरमा समेत पुग्दा सबै घरहरू जलेर नष्ट भएका हुन् ।

आगो नियन्त्रणमा स्थानीयवासी, इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कञ्चनरुप नगरपालिकाको दमकलले सहयोग गरेका थिए । करिब दुई घण्टाको प्रयासपछि शुक्रबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादव घाइते भएका छन् । उनको ढाड र हातमा करिब २५ प्रतिशत पोलिएको र हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत रहेको प्रहरीका अनुसार स्वास्थ्य अवस्था सामान्य छ।

आगलागीमा ६५ वर्षीय ललित यादवका दुईवटा बाँसको टाटी र टिनको छानो भएका घर, एक तोला सुन, १० तोला चाँदी, ५० हजार नगद, अन्नपात, लत्ता कपडा, भाँडा बर्तन जलेका छन् । साथै, भैँसी एक र गाई एक घाइते भएका छन् भने दुईवटा खसी र एकवटा बाख्रा मरेका छन् । यसरी उनको करिब ७ लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको बरख गण भलुवाही राजविराजका प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, उनका छोरा सुनिल यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, तीन लाख नगद, अन्नपात, लत्ता कपडा, भाँडा बर्तन र परालको कुन्यु जलेर १६ लाख ४५ हजार बराबरको क्षति भएको छ।
अरू छोरा श्यामसुन्दर यादवको दुईवटा घर, तीन तोला सुन, ५० तोला चाँदी, दुई लाख नगद, अन्नपात, लत्ता कपडा र एक भैँसी जलेर १५ लाख ६५ हजार बराबरको क्षति भएको पीडित परिवारले बताएको छ।

ललितकी छोरी पार्वतीदेवी यादव (२५), जो हाल माईतीघरमा बस्दै आएकी थिइन्, उनको तीन तोला सुन, १०० तोला चाँदी, ७५ हजार नगद र लत्ता कपडा जल्दा करिब १० लाख ६५ हजार बराबरको क्षति भएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको कारण विद्युत् सर्ट सर्किट रहेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्