विद्युतिय गाडी दुर्घटना, १ जनाको मृत्यु, १९ घाइते
डोटी,असोज २५ । डोटीमा आज सुदूरपश्चिम प्रदेश ०१-००१ख ३९५६ नम्बरको विद्युतीय हायस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
अछामबाट धनगढीका लागि छुटेको गाडी भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१, गोल्डेन भन्ने स्थानमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार अछामको मंगलसैन नगरपालिका-९ कि २२ वर्षीया हरिना परियार घटनास्थलमै मृत्यु भएकी छन्।
घाइतेमध्ये ६ जनालाई गम्भीर चोट लागेको बताइएको छ। उनीहरूमा केही बालबालिका समेत रहेका छन्। सबै घाइतेलाई उपचारका लागि कैलालीको अत्तरिया लगिएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ।

