सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



काठमाडौं,असोज २६ । पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले आज आइतबार पक्राउ गरेको छ।

महरामाथि २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसङसँग सम्बन्धित सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोप छ।

हानसङले ल्याएका २ वटा सुटकेसमा ७३ वटा बट्टा थिए, जसभित्र ७३० थान ‘भेप’ (vape) लुकाइएको थियो। अनुसन्धानका क्रममा ती भेपभित्र करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन रहेको पाइएको थियो।

उक्त सुन भन्सारका नासु रेवन्त खड्का लगायतको मिलेमतोमा बेचिएको खुलेको छ। सो सुन छुटाउन महराले भन्सारमा राजनीतिक दबाब दिएको आरोप अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसअघि, सोही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका छन्। हालै महरासँग सोही प्रकरणमा बयान लिइएपछि थप प्रमाणका आधारमा पक्राउ गरिएको CIB स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा चिनियाँ नागरिक लुई हानसङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको लगातार सम्पर्क र कल रेकर्ड भेटिएको बताइएको छ।

यसअघि पनि महरा अनुसन्धानको दायरामा तानिएका थिए तर सत्ता र शक्तिको आडमा फाइल अघि नबढेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्