दसैं यताका १७५ सवारी दुर्घटनामा ९ जनाको मृत्यु



काठमाडौँ,असोज २७। दसैंको घटस्थापनादेखि अहिलेसम्म काठमाडौँ उपत्यकामा १७५ वटा सवारीसाधन दुर्घटना भएका छन्, जसमा नौ जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ती दुर्घटनामा १८८ जना गम्भीर घाइते भएका छन्। अधिकांश दुर्घटना रातिको समयमा भएका छन्।

प्रवक्ता सुवेदीका अनुसार गत वर्षको तुलनामा यस वर्ष दसैं अवधिमा उपत्यकामा सवारी दुर्घटनाको दर घटेको छ। “हामीले दसैं सुरु हुनुअघि नै सवारीसाधन जाँच कडाइ गरेका थियौँ। मादक पदार्थ सेवन (मापसे) जाँच, चालक अनुमति पत्रको निरीक्षण र गति नियन्त्रणमा पनि ट्राफिक प्रहरी सक्रिय थियो,” उहाँले बताउनुभयो।

ट्राफिक प्रहरीले सवारी चालकहरूलाई विशेष गरी रातिको समयमा गाडी चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, र ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ।

प्रवक्ता सुवेदीका अनुसार रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने, र कतिपयले नशाको अवस्थामा तीव्र गतिमा सवारी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको छ।

चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेहरूको भीड, समयको हतारो र उत्साहका कारण दुर्घटनाको सम्भावना बढ्ने भएकाले ट्राफिक प्रहरीले अझ सतर्क रहन सबै नागरिकलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्