पूर्वसभामुख कृष्णबहादुर महरा पुनः अदालतमा उपस्थितभेपमार्फत सुन तस्करी प्रकरणमा अनुसन्धान अघि बढ्दै



काठमाडौं,असोज २७ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ।

महरालाई म्याद थपको मागसहित सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। अपराध अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार ललितपुरको खुमलटारबाट महरालाई पक्राउ गरेको थियो। उनलाई इलेक्ट्रोनिक चुरोट (भेप)मार्फत सुन लुकाएर ल्याइएको प्रकरणमा संलग्नता रहेको आशंकामा पक्राउ गरिएको हो।

सीआईबीले महरालाई यसअघि पनि २०८० चैत ५ गते पक्राउ गरी बयान लिएर हाजिर जमानीमा रिहा गरेको थियो। तर, सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तनपछि १८ महिनापछि पुनः पक्राउ गरिएको हो।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करीमा संलग्न ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो।

उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङसँग महराको सम्पर्क रहेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। जाँचबुझ आयोगका अनुसार, महराले आफ्नो बयानमा वाङसँग चिनजान रहेको कुरा पनि स्वीकार गरेका थिए।

हाल अदालतमा म्याद थपको कार्यवाही सकिएपछि महरालाई पुनः सीआईबीको हिरासतमा पठाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्