बढी मूल्यमा बोतल र जारको पानी बेचे कारबाही हुने — वाणिज्य विभाग
काठमाडौँ, असोज २८ —वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको भन्दा बढी मूल्यमा बोतल र जारको पानी बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले सोमबार एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुने प्लास्टिकका बोतल तथा जारको पानीको मूल्य निर्धारण भइसकेकाले तोकिएको भन्दा बढी रकम लिनेहरू कारबाहीको दायरामा पर्ने जनाएको हो।
विभागका अनुसार काठमाडौँ उपत्यकामा एक लिटरको बोतल पानीको खुद्रा मूल्य रु. १६ र उपत्यका बाहिरका लागि रु. २० निर्धारण गरिएको छ। त्यस्तै, २० लिटरको जार पानी उपत्यकामा रु. ४७ र उपत्यका बाहिर रु. ६० मा बिक्री गर्न पाइने छ।
यसअघि पानी व्यवसायीहरूले मनपरी दरमा बोतल र जारको पानी बिक्री गर्दै उपभोक्तामाथि आर्थिक भार बढाउँदै आएको भन्दै विभागले चेतावनी दिएको हो।
विभागले उपभोक्ता हित संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम तोकिएको भन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीमाथि कारबाही गरिने उल्लेख गरेको छ। साथै, उपभोक्ताले बढी मूल्यमा पानी बिक्री भएको देखेमा विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

