नुवाकोटमा ‘७०औं प्रहरी दिवस २०८२’ विभिन्न कार्यक्रमका साथ मनाइयो
नुवाकोट,असोज २९—“नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस २०८२ नुवाकोटमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिदुर नगरपालिका–२ स्थित रुद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको थियो। यसै क्रममा मातहत प्रहरी कार्यालयहरूबाट समेत नजिकका मठ–मन्दिर र सार्वजनिक स्थलहरूमा सरसफाइ कार्यक्रम गरिएको प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी दिवसको अवसरमा त्रिशुली अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखासँगको समन्वयमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण र रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको छ। सो अवसरमा २७ जना प्रहरी कर्मचारी र २ जना स्थानीय नागरिक गरी २९ जनाले रक्तदान गरेका थिए।
त्यसैगरी, प्रहरी दिवसकै अवसरमा बिदुर नगरपालिका–५ स्थित देविघाट ज्येष्ठ नागरिक सेवा आश्रममा फलफुल वितरण गरी समाजसेवी कार्यमार्फत मानवता र सेवाको सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

