ललितपुरमा ५० किलोभन्दा बढी चाँदीसहित भारतीय नागरिक पक्राउ



ललितपुर,असोज ३१—प्रहरीले ५० किलोभन्दा बढी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार, पक्राउ पर्ने व्यक्ति भारतको घोरसहन, पूर्वी चम्पारणका ३१ वर्षीय अभिशेख शेख हुन्।

शेखलाई ललितपुर महानगरपालिका–१६ धौगलबाट बिहीबार दिउँसो पक्राउ गरिएको हो।

गोप्य सूचनाको आधारमा प्रहरीले निगरानी बढाउँदै गरेको थियो। शेखले भारतबाट अवैध रूपमा चाँदी ल्याई विभिन्न प्रकारका गरगहना बनाएर बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनको साथबाट प्रहरीले ५० किलो ७४ ग्राम चाँदीका गरगहना बरामद गरेको छ। पक्राउ परेका शेखमाथि आवश्यक कानूनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्