जेनजी आन्दोलनमा मृत्यु भएका ७६ जनामध्ये २२ मात्रै प्रदर्शनकारी : नेपाली सेना



काठमाडौँ,असोज ३१— नेपाली सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये केवल २२ जना मात्रै प्रदर्शनकारी रहेको जानकारी दिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले भदौ २३ गतेको आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारीको मृत्यु भएको बताएको हो। सेनाका अनुसार बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र ४१ जना अन्य व्यक्ति रहेका छन्, जसको मृत्यु भदौ २४ गतेको आन्दोलनका क्रममा भएको हो।

सेनाले जनाएको अनुसार टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान अझै खुल्न बाँकी छ।

आन्दोलनका क्रममा देशभर ६८८ सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको सेनाले जनाएको छ।

त्यस्तै, ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गरिएको सेनाले जनाएको छ। आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी फरार भएका मध्ये हालसम्म ८ हजार ७९९ जना पुनः नियन्त्रणमा लिइसकिएको समेत जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्