आजदेखि सुरु भयो उज्यालोको पर्व तिहार : धनतेरस र यमदीपदानका साथ सुरु हुँदै भाइटीकासम्म पाँचदिनसम्म मनाइने



काठमाडौँ,कात्तिक १ — उज्यालोको पर्व यमपञ्चक (तिहार) आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज धनतेरस (धनत्रयोदशी) र यमदीपदानका साथ आरम्भ भएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व सुरु भएको हो। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज बेलुकी धनत्रयोदशी तथा यमदीपदान पर्व मनाइनेछ भने आइतबार काग तिहार परेको छ।

धनतेरसका दिन धनवन्तरी जयन्ती समेत मनाइन्छ। यस दिन दिउँसोपछिको त्रयोदशी तिथिमा घरआँगनमा यमदीपदान गरिन्छ, जसले यमयातनाबाट मुक्ति मिल्ने विश्वास रहँदै आएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए।

आइतबार बिहान नरक स्नान गरी कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिनेछ। यस वर्ष लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ। सोमबार बिहान अपामार्गसहित स्नान गरेर बत्ती बालेर नदीमा बगाउने धार्मिक परम्परा छ, जसलाई नरक स्नान भनिन्छ।

कात्तिक ५ गते बुधबार गाई–गोरु र गोवद्र्धन पूजा, साथै नेपाल संवत् ११४६ सुरु हुनेछ। यसै दिन हलि तिहार, बलीपूजा, र म्ह पूजा (आत्म पूजा) पनि मनाइनेछ।

कात्तिक ६ गते बिहीबार भाइटीका मनाइनेछ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको छ। भाइटीका लगाउँदा दाजुभाइ पश्चिमतर्फ र दिदीबहिनी पूर्वतर्फ फर्किनुपर्ने धार्मिक परम्परा छ।

तिहारका अवसरमा देशभर झिलीमिली बत्तीले शहर उज्यालो बनेका छन्। राजधानी काठमाडौंसहितका प्रमुख शहरमा बत्ती, फूलमाला र रङोलीले वातावरण झनै रमणीय बनेको छ। यस पर्वमा देउसी–भैलो, कौडा, लंगुरबुर्जा र तास खेल्ने परम्परा पनि प्रचलित छ।

नेपाल प्रहरीले भने यस वर्ष पनि पटाका नपड्काई सभ्य रूपमा पर्व मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्